मोदीको पत्र बोकेर ओली भेट्न आउँदै भारतीय विदेश सचिव मिश्री

काठमाण्डु टुडे २०८२ साउन ३१ गते १६:४४ मा प्रकाशित

फाइल तस्बिर

काठमाण्डू, ३१ साउन– भारतीय विदेश सचिव विक्रम मिस्री नेपालको औपचारिक भ्रमणमा आइतबार आउँदै छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।

भारतीय विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै विदेश सचिव मिस्री आइतबार नेपाल आउने जानकारी दिएको छ । नेपालमा रहँदा उनले प्रधानमन्त्री केपी ओली, परराष्ट्रमनत्री आरजु राणा देउवा लगायतसँग भेटवार्ता गर्नेछन् ।

मिश्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको ओलीको भारत भ्रमणको निमन्त्रणा हस्तान्तरण गर्नेछन् ।
प्रधानमन्त्री ओली आगामी भदौ तेश्रो साता भारत भ्रमणमा जाँदैछन् ।

नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक र पारस्परिक सहयोगमा आधारित सुमधुर सम्बन्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतले आफ्नो ‘छिमेकी पहिले’ नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राख्दै आएको मन्त्रालयको भनाइ छ ।

सचिव मिस्रीको नेपाल भ्रमणले दुई देशबीचको उच्चस्तरीय सम्पर्क र संवादलाई निरन्तरता दिने र द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us