काठमाण्डू, २२ साउन– सिन्धुपाल्चोककी एक किशोरीलाई साउन २० गते पेट दुख्न थाल्यो । त्यसपछि उनलाई उपचारका लागि अस्पताल लगियो । सोही दिन उनले अस्पतालमा शिशुलाई जन्म दिइन् ।
पेट दुखेको भनेर अस्पताल आएकी अविवाहित किशोरीले बच्चा जन्माएपछि अस्पतालले प्रहरीलाई जानकारी गरायो । प्रहरीले सोधपुछ गर्ने क्रममा ती किशोरीले बलात्कारबाट गर्भ रहेको खुलाईन ।
किशोरीले विभिन्न समयमा आफूलाई जबरजस्ती करणी गरेको भनेपछि अनुसन्धानका लागि सिन्धुपाल्चोककै ५० वर्षीय एक पुरुषलाई पक्राउ गरेर अनुसन्धान सुरु गरीएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधव खरेलले जानकारी दिएका छन । बलात्कारबाट गर्भ बसेको कुरा पीडित किशोरीले सुरुमा परिवारलाई समेत जानकारी नगराएको खुलेको प्रहरीले जनाएको छ ।
‘पेटमा दुखेको भनेर अस्पताल ल्याइएकी ती किशोरीको परिवारले समेत गर्भवती भएको पत्ता नपाएको पाइयो,’ प्रहरी प्रवक्ता खरेलले भने । घटनाको गाम्भिर्यतालाई मध्यनजर गर्दै पक्राउ परेका व्यक्तिमाथि प्रहरीले जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।