काठमाण्डू,२२ साउन– भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिनेक्रममा धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप हुँदा प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ ।
धनुषाको विदेह नगरपालिका–२ दुहवीस्थित आँप बगैचामा बुधबार साँझ सवा ८ बजेतिर भारतबाट अवैध रुपले ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा झडप भएको प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुबाट डीएसपीको कमाण्डमा रहेको सुरक्षा फौजले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्कर र स्थानीय जम्मा भई सुरक्षा कर्मी माथी ढुङ्गामुढा प्रहार गरेका थिए ।
स्थितिलाइ नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी बलले एसएलआर बाट ४ राउण्ड हवाई फायर गरीएको प्रहरीले जानकारी दिएको छ । झडपका क्रममा स्थानीयले तस्करीको केही सामान लुकाएका छन् भने एउटा मोटरसाइकल र केही किराना सामान नियन्त्रणमा लिइएको छ ।
बरामद सामान तथा मोटरसाइकल आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीका केन्द्रीय सह–प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन ।