काठमाण्डू,२२ साउन– सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा एकै दिन दुई फरक भ्रष्टाचारको आरोपमा विशेष अदालतले दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार भरतताल बनाउदा सरकारी सम्पत्ति हानीनोक्सानी गरेको आरोपमा दोषी ठहर गरेको हो ।
विशेषले नै उनलाई गैरकानूनी सम्पत्ति आर्जन गरेको अर्को भ्रष्टाचारको आरोपमा समेत दोषी ठहर गरेको थियो । बुधबार राति विशेष अदालतले सार्वजनिक गरेको संक्षिप्त आदेश अनुसार, भरतताल भ्रष्टाचारमुद्दामा मेयर थापा सहित विमलकुमार पोखरेल र सागर पौडेल पनि दोषी ठहर भएका हुन ।
विशेष अदालतले उनीहरुमाथि ३० करोड २९ लाख रुपैयाँ नदीजन्य पदार्थ हानीनोक्सानी गरेको ठहर गरेको हो । दोषी ठहर भएकाहरुलाई सजाय निर्धारणका लागि विशेष अदालतले अर्को बिहीबार (२९ साउन)मा पेशी तोकेको छ ।
३ वर्षभन्दा बढी सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ । विशेष अदालतले त्यो भ्रष्टाचारमा मुछिएका अरु आरोपितलाई सफाई दिएको छ । लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीले आरोपबाट सफाइ पाएका छन् ।
विशेष अदालतले गैरकानूनी सम्पत्तिआर्जनको अर्को भ्रष्टाचार मुद्दामा पनि मेयर थापालाई दोषी ठहर गरेको छ । विशेष अदालतले उनलाई ३ करोड ४५ लाख रुपैयाँ गैरकानूनी आर्जन गरेकोमा दोषी ठहर्याएको हो ।
९ करोड १४ लाख रुपैयाँ बैध रुपमा कमाएका उनले १२ करोड ५९ लाख रुपैयाँको सम्पत्ति जोडेको भेटिएको विशेष अदालतको ठहर छ । अख्तियारले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गरेको थियो ।