रास्वपालाई कांग्रेसको प्रश्नः गृहमन्त्रीको नैतिकतामा प्रश्न उठाउने नेताहरू उपसभामुखको नैतिकतामा प्रश्न उठाउनु पर्दैन ?

काठमाण्डु टुडे २०८२ साउन २१ गते १६:१३ मा प्रकाशित

काठमाण्डू, २१ साउन– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुलाई अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुन सुझाव दिएका छन ।

आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस महामन्त्री शर्माले रास्वपाका सांसदहरुलाई यस्तो सुझाव दिएका हुन । महामन्त्री शर्माले भिजिट भिसा प्रकरणको विषयलाई आवेगमा आएर नहेर्न समेत आग्रह समेत गरेका छन । महामन्त्री शर्माले भिजिट भिसामा सबैभन्दा बढी गृहमन्त्री रवि लामिछानेको पालामा गएको पनि बताएका छन ।

उनले भने, ‘आवेगमा आएर विषयवस्तुलाई नहेरौं । रास्वपालाई मेरो सुझाव छ । नयाँ दल, अनुभवले खारिन बाँकी छ त्यसकारण तपाईंहरू तीनवटा ‘अ’बाट मुक्त हुनुस् । अतार्किक अडानबाट, आवेगबाट र अराजक शैलीबाट ।’ उनले मानव तस्करीको विषयमा प्रश्न उठाउँदा रास्वपाले नै छानेको उपसभामुख इन्दिरा राना मगरको विषय समेत कोट्याए ।

कांग्रेस महामन्त्री शर्माले भने, ‘तपाईंहरूकै सभापति रविजी गृहमन्त्री भएको समयमा भिजिट भिसामा बाहिर धेरै मानिसहरू गएका छन् । तपाईंहरूले संसद् बहिष्कार गर्दै गर्दा रविजीकै पालमा सबैभन्दा बढी मानव तस्करी भएको भन्ने तपाईंहरूको निष्कर्ष हो ? म सोध्न चाहन्छु ।’ गृहमन्त्रीको नैतिकतामा प्रश्न उठाउने नेताहरू उपसभामुखको नैतिकतामा प्रश्न उठाउनु पर्दैन ? भन्ने उनको प्रश्न थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us