रविको पक्षमा हस्ताक्षर गर्न आउँदा बाल यौन दुरुपयोग मुद्दाका दोषी पक्राउ

काठमाण्डु टुडे २०८२ साउन २१ गते १२:५० मा प्रकाशित

काठमाण्डू, २१ साउन– प्रहरीले बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका एक व्यक्ति विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ५९ वर्षीय अर्थराज कोइराला रहेका छन ।

कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ं का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न आएका बेला उनी पक्राउ परेका हुन् ।

रास्वपाले मंगलबार लामिछानेको पक्षमा महेन्द्र चोकमा हस्ताक्षर संकलन गरेको थियो । कोइराला हस्ताक्षरका लागि पुगेका बेला पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ । मुद्दा सुनसरीको भएका कारण मंगलबार नै उनलाई सुनसरी पठाइएको छ ।

कोइरालालाई जिल्ला अदालत सुनसरीले गत ३२ असारमा कसुरदार ठहर गरेको थियो । बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका उनलाई अदालतले २ वर्ष कैद, २५ हजार रूपैयाँ जरिबाना हुने फैसला गरेको थियो । पीडितलाई क्षतिपूर्तिबापत कोइरालाबाट २ लाख रूपैयाँ भराउने फैसला पनि भएको थियो ।

अमेरिका बस्दै आएका कोइराला बाल यौन दुर्व्यवहारको आरोपमा गत वैशाखमा पक्राउ परेका थिए । त्यसपछि उनी अदालतले मागेको धरौटी बुझाएर छुटेका थिए । मुद्दा फैसला हुँदा उनी दोषी ठहर भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us