काठमाण्डू, २० साउन– काठमाण्डू महानगरपालिका– १० न्युरोडमा रहेको विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताहरूको करिब पाँच करोड रुपैयाँ ठगी गरेर सहकारीका सञ्चालक समितिका सबै पदाधिकारीहरु फरार भएका छन् ।
विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित सात जना पदाधिकारीहरु फरार रहेको बताइएको छ । फरार हुनेहरुमा सहकारीका अध्यक्ष ४३ वर्षीय दमन्ता घिमिरे, सचिव ३८ वर्षीय अमृत कटुवाल, सहसचिव २५ वर्षीय गोपाल अधिकारी, कोषाध्यक्ष ४४ वर्षीया भारती न्यौपाने गौतम, सदस्य २९ वर्षीया अनिता थापा र सदस्य ३८ वर्षीय रोहित खड्का छन् ।
लामो समयसम्म फरार भएपछि उनीहरुलाई फरार प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाण्डूमा मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध यसअघि पनि मुद्दा दर्ता भएको थियो ।
२६ माघ २०८० मा १ करोड ४९ लाख ९७ हजार २१३ रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दर्ता भएको थियो । लामो समयसम्म खोजी गर्दा पनि उनीहरु फेला नपरेपछि फरार प्रतिवादी बनाएर प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिस काठमाण्डूका एक अधिकृतले जानकारी दिए ।
पछि यो सहकारीविरुद्ध थप जाहेरी आएपछि अनुसन्धान गर्दा अरू पाँच करोड रुपैयाँ अपचलन भएको पाइएको प्रहरीले बताएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूले जिल्ला अदालत काठमाण्डूमा ठगीको कसुरमा मुद्दा दायर गरेको छ ।
उनीहरूले १५ बचतकर्ताको चार करोड ८० लाख २३ हजार २८६ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ । सुरेशकुमार पोदार नाम गरेका एक बचतकर्ताको १ करोड ४९ लाख ९७ हजार २१३ रुपैयाँ ठगी गरेको आरोप छ ।