अख्तियार विधेयक अघि बढाउन सभामुखसँग रुलिङको माग

काठमाण्डु टुडे २०८२ साउन ८ गते १६:०० मा प्रकाशित

काठमाण्डू, ८ साउन– कांग्रेस सांसद हृदयराम थानीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक अगाडि बढाउन सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका छन छन ।

आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद थानीले यस्तो बताएका हुन । उनले भने, ‘सभामुख महोदाय, विगत ६ महिनादेखि राज्य व्यवस्था तथा सुशासन समितिमा थन्किएर रहेको अख्तियार सम्बन्धी महत्त्वपूर्ण विधेयकलाई समितिमा तत्काल छलफल गराउनका लागि सरकारलाई रुलिङ गरिदिनुहुन अनुरोध गर्दछु ।’

नीतिगत बाहेकका मन्त्रिपरिषद्का निर्णय समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको क्षेत्राधिकारमा पर्नेगरी तयार यो विधेयक प्रतिनिधिसभामा २७ चैत २०७९ देखि विचारधीन रहेको छ । राष्ट्रिय सभामा यो विधेयक ६ माघ २०७६ मा दर्ता भएको थियो । २७ चैत २०७९ मा पारित भएर प्रतिनिधिसभामा आएको हो । संसद्‍मा विधेयक आएको ६ वर्षसम्म यो विधेयक ऐनमा रुपान्तरित हुन सकिरहेको छैन ।

प्रतिनिधिसभाले यो विधेयक दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको पनि २ वर्ष हुन लाग्यो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधिसभाले यो विधेयकमाथि दफावार छलफल गर्नेगरी राज्य व्यवस्था समितिमा ३१ भदौ २०८० पठाएको थियो ।

यो विधेयकको प्रतिवेदन तयार भएर पनि अगाडि बढ्न सकेको छैन । यो विधेयकमा सहमति जुटाउन राज्य व्यवस्था समितिले कांग्रेस सांसद हृदयराम थानीको नेतृत्वमा उपसमिति बनाएको थियो ।

उपसमितिले सर्वसम्मत रुपमा विधेयकमा सहमति जुटाएर ४ पुस २०८१ मा विधेयकको प्रतिवेदन मूल समितिमा बुझाएको थियो । योसँगै उपसमितिले बुझाएको अर्को भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक दुवै सभाबाट पारित भएर ऐनमा रुपान्तरित भइसक्यो ।

तर अख्तियार विधेयक अगाडि बढ्न नसकेको हो । कारण– यो विधेयकमा रहेका कतिपय प्रावधानमा एमाले र कांग्रेसका आ–आफ्नै अडान रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us