ओलीलाई टंक कार्कीको प्रश्नः विद्यालाई संविधानले रोक्दैन, तपाईंले राजनीतिको मझेरी टेक्न दिन्न भनेर हुन्छ ?

काठमाण्डु टुडे २०८२ साउन ८ गते ९:३१ मा प्रकाशित

काठमाण्डू, ८ साउन– एमाले केन्द्रीय सदस्य टंक कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा आउन नदिने निर्णयमा आपत्ति जनाएका छन् ।

मंगलबार मध्यराति एमाले केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले भण्डारीलाई पार्टीमा आउन नदिने निर्णय सुनाएका थिए ।

कार्कीले संविधानले पूर्वराष्ट्रपतिले सक्रिय राजनीतिमा आउन नरोकेको भन्दै पार्टीले रोक्न नमिल्ने तर्क गरेका छन् ।

कार्कीले वर्तमान राष्ट्रपति रामचन्दै पौडेल र दिवंगत एमाले नेता सुवासचन्द्र नेम्वाङ सभामुखको भूमिकापछि सक्रिय राजनीतिमा फर्किएको उदाहरण प्रस्तुत गरेका छन् । यस्तै उनले पूर्वराष्ट्रपति नन्दबहादुर पुन माओवादीमा फर्किएको तथा बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष भएको स्मरण गराएका छन् । ‘ए गाँठे ! धेरैअघि नै होइन, रामचन्द्र पौडेल समामुखबाट फर्केपछि काँग्रेसमा सामेल भएकै हुन्, सुवास नेम्वाङ उसरी नै सभामुखबाट फर्केपछि एमालेमा सामेल भएकै हुन् । बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मी प्रधानमन्त्री भएकै हुन् । उपराष्ट्रपति नन्दबहादुर पुन माओवादीमा उपाध्यक्ष हुँदा आकाश खसेको छैन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने राजनीतिको मझेरी टेक्नुहुन्न ?’, कार्कीले अध्यक्ष केपी ओली र सो पक्षका नेतामाथि प्रश्न गरेका छन् ।

बहालवाला राष्ट्रपति मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति हुने भएकाले दलीय राजनीतिमा सक्रिय हुन नहुने कार्कीले स्पष्ट गरे ।

तर, पूर्वराष्ट्रपति भने सक्रिय राजनीतिमा फर्कन मिल्ने तर्क उनको छ । ‘राष्ट्रपति भनेको मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतिक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति हुन्, दलगत हुनु हुन्न । पदको गरिमाको पूर्ण सम्मान गर्नुपर्दछ । उल्लङ्घन गर्न छुट छैन पनि’, कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तर पूर्वराष्ट्रपति भनेको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति होइन । त्यसैले संविधानले रोक्दैन ्र राजनीतिले रोक्न मिल्छ ? हामी बडो लोकतान्त्रिक छौं, हामी राजनीति गर्छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us