काठमाण्डू, ८ साउन– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट एमाले नेता विनोद ढकालले केन्द्रीय समिति बैठकले भण्डारीमाथि अपराधपूर्ण निर्णय गरेको टिप्पणी गरेका छन् ।
एमाले केन्द्रीय समिति बैठकले मंगलबार मध्यराति भण्डारीलाई पार्टी राजनीतिमा फर्कन रोक्न निर्णय गरेको थियो । प्रधानमन्त्रीसमेत हरेका अध्यक्ष केपी ओलीले आगामी महाधिवेशनमा आफ्नो प्रतिस्पर्धी बन्न सक्ने त्रासका कारण भण्डारीको भावना र आत्मसम्मानमा चोट पु¥याउने निर्णय गराएको ढकालको भनाइ छ ।
‘विद्या भण्डारीले पार्टी नेतृत्वमा प्रतिस्पर्धा गर्न सक्ने डरले बैठकमा एजेण्डा नै नभएको विषय अध्यक्ष आफैंले एजेण्डामा राखेर, केन्द्रीय कमिटी सदस्यहरुलाई बोल्न लगाएर षड्यन्त्रपूर्ण निर्णय गराउनुभयो’, पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा ढकालले भनेका छन्, ‘विद्या भण्डारीलाई नियोजित, षड्यन्त्रमूलक र उहाँको सामाजिक जीवनलाई नै अपमान गर्ने गरी केन्द्रीय कमिटीले विवेकहीन निर्णय गरेको छ । विद्या भण्डारीको भावनामाथि गम्भीर प्रहार भएको छ । राजनीतिक रुपमा उहाँमाथि ठूलो अपराध भएको छ ।’
भण्डारीलाई रोक्ने निर्णयले पार्टी पंक्ति स्तब्ध भएको तथा आमकार्यकर्ता रोएको दाबी उनले गरे । उक्त निर्णयबाट सीमित स्वार्थ समूहबाहेक कोही खुसी नभएको ढकालले उल्लेख गरे । भण्डारीले नै ओलीलाई नवौं महाधिवेशनमा पार्टीको मूल नेतृत्वमा स्थापित गराएको भन्दै उनले त्यसको बदलामा अहिले अपमान र षड्यन्त्रको किशार बनाउन खोजिएको आरोप उनले लगाए । ‘नवौं महाधिवशेनमा ओली बिरामी भएर राजनीतिक गतिविधि गर्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । विद्या भण्डारीले नै चुनावी कमाण्डमा माधव नेपाललाई ४६ भोटले पराजित गरेर ओली अध्यक्ष निर्वाचित हुनुभएको हो’, ढकालले भने, ‘त्यस्तो मान्छेलाई राति १२ बजे सबै सुतिसेकको अवस्थामा केके न गरियो जसरी पार्टीमा आउन नदिने निर्णय गर्नुपथ्र्यो ?’ ।
ढकालले १४ गते पति मदन भण्डारीको जन्मजयन्तीका अवसरमा सक्रिय राजनीतिमा आउने घोषणा गर्नु दुई दिनअघि भण्डारीले ओलीसँग बालुवाटारमा ६ घण्टा छलफल गरेको बताए । त्यतिबेला भण्डारीले स्पष्ट रुपमा आफू सक्रिय राजनीतिमा फर्कन लागेको जानकारी दिएको ढकाल बताउँछन् । ओलीसमेत उक्त कार्यक्रममा आउनुले भण्डारीले पूर्वजानकारी नदिएको भन्ने ओलीसहित उनीपक्षधरको दाबी खण्डित हुने तर्क ढकालले गरे ।
भण्डारी नेपालको राजनीतिमा संलग्नमध्ये सबैभन्दा बोल्ड नेता भएको भन्दै ढकालले फरक ढंगले एमालेलाई बलियो बनाउने अभियानमा सक्रिय हुने योजना हरेको सुनाए ।
भण्डारीले पत्रकार सम्मेलनमार्फत आगामी राजनीतिक र सामाजिक कदमबारे सिंगो मुुलुक र पार्टी कार्यकर्तालाई अवगत गराउने तयारी गरिरहेको ढकालले खुलाए । ‘राम्रो राजनीतिक व्यक्तित्व भएको हुनाले उहाँले चाल्ने कदम भनेको राजनीतिक नै हुन्छ । पार्टीका निर्णयबारेमा आफ्नो दृष्टिकोण र धारणा चाँडै सार्वजनिक गर्दै हुनुहुन्छ’, ढकालले भने ।
पूर्वराष्ट्रपतिका रुपमा राज्यले दिने सेवा सुविधा नलिनेबारे गृह मन्त्रालयमा औपचारिक रुपमा जानकारी गराइसकेकी भण्डारीले कसैले भन्दैमा पूर्वराष्ट्रपतिको सुविधा लिएर बस्ने काम नगर्ने ढकालको स्पष्टोक्ति छ ।