
काठमाण्डू, २४ असार– पूर्व मन्त्री एवं कांग्रेस नेता अच्युतराज रेग्मीको निधन भएको छ । रेग्मीको ९३ वर्षको उमेरमा सोमबार अष्ट्रेलियामा उपचारका क्रममा निधन भएको उनको परिवारिक स्रोतले जानकारी दिएको छ ।
उनी ०१५ सालको पहिलो आमनिर्वाचनमा कांग्रेसका तर्फबाट पाल्पा–३ पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वको ०४७ सालको अन्तरिम सरकारमा रेग्मी आवास तथा भौतिक योजनामन्त्री थिए ।
पाल्पाको तानसेन नगरपालिका–२ मेहलधारामा जन्मिएका रेग्मीले कांग्रेसको संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले शोक वक्तव्य जारी गरेर पूर्वमन्त्री रेग्मीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।