
काठमाण्डू, १४ जेठ– विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आज पनि संसद बैठक अवरुद्ध गर्ने भएका छन् ।
यसअघि मंलबार विपक्षीको अवरोधका कारण कार्यसूचीमा प्रवेशै नगरी स्थगित बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति कुसुमदेवी थापाले समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै कार्यसूचीमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१र०८२ को आर्थिक सर्वेक्षण पेश गर्नेछन् ।
भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफलसम्बन्धी प्रस्ताव पेस गर्ने पनि कार्यसूची छ । यस्तै सम्भावित कार्यसूचीमा युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले जानकारी दिए ।
पर्यटक भिसामा विभिन्न देश जाने युवाहरुबाट दैनिक कम्तिमा ५० लख रुपैयाँ असुली गर्ने गरिएको प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म बैठक अवरुद्ध गर्ने चेतावनी विपक्षीले दिँदै आएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा संलग्न रहेको आरोपमा गृहमन्त्रालय अन्तर्गतका सहसचिव एवं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई पक्राउ गरेको थियो ।
भट्टराईलाई गत असोजमा मन्त्री लेखकले नै उक्त जिम्मेवारीमा पठाएको र अख्तियारले पक्राउ गर्ने तयारी गरेको सूचना पाएपछि हतारहतार मन्त्रालयमा सरुवा गरेका कारण उक्त संगठित अपराधमा लेखकमाथि शंका गर्ने ठाउँ भएको तर्क विपक्षीको छ । यस्तै मन्त्री लेखकको स्वकीय र निजी सचिवालयका जिम्मेवार व्यक्तिहरु पनि मानव तस्करीमा संलग्न रहेका समाचारहरु बाहिर आएका छन् ।
मन्त्री लेखकले नैतिकताका आधारमा राजीनमा दिनुपर्ने आवाज सत्तारुढ काँग्रेस र एमालेभित्रैबाट उठिरहेको छ । सामाजिक सञ्जाल र कतिपय लेखकका शुभेच्छुकहरुले नै नैतिकताका आधारमा राजीनामा दिन भनिरहेका छन् । तर, उनको दल काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीे लेखकको बचाउ गरेका छन् ।
सोमबार बसेको काँग्रेस पदाधिकारी र एमाले सचिवालय बैठकले कर्मचारीले गल्ती गर्दैमा मन्त्रीले राजीनामा दिनुनपर्ने निस्कर्ष निकालेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–प्रवक्ता मनिष झाले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् नचल्ने बताए ।
‘नेपाली युवाहरुलाई विदेश पठाएर दैनिक लाखौं उठाउने जस्तो मानव तस्करीमा मुछिएका गृहमन्त्रीको राजीनामा हाम्रो पहिलो सर्त हो’, झाले भने, ‘राजीनामा नआउँदासम्म संसदको अवरोध जारी रहन्छ ।’ उनले राजीनामा नदिएसम्म लेखकलाई संसदमा बोल्न पनि नदिइने बताए ।