अमेरिकाभर ट्रम्पविरुद्ध विशाल प्रदर्शन, राजधानीसहित १४ सय स्थानमा विरोध

काठमाण्डु टुडे २०८१ चैत २३ गते १७:०४ मा प्रकाशित

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशभर विरोध प्रदर्शन भएको छ । दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी जनताले ट्रम्पको विरोध गरेको यो पहिलो पटक हो ।

यी प्रदर्शन अमेरिकाका सबै ५० राज्यका करिब एक हजार ४०० स्थानमा चलिरहेको बताइएको छ । यिनलाई ‘ह्यान्ड्स अफ’ नाम दिइएको छ, जसको अर्थ ट्रम्पले जनताको मामिलामा हात हाल्नुहुँदैन भन्ने हो ।

प्रदर्शनकारीहरूले सामाजिक र आर्थिक मुद्दासहित ट्रम्पको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन् । ट्रम्पले विश्वका धेरै देशमा कर लगाउने घोषणा गरेपछि अमेरिकाबाहिर लन्डन, पेरिस र बर्लिनजस्ता शहरमा पनि प्रदर्शन भएका छन् ।

बोस्टनमा केही प्रदर्शनकारीले अमेरिकी विश्वविद्यालयका विद्यार्थीमाथि आप्रवासनसम्बन्धी छापा मारिएको कारण प्रदर्शन गरेको बताए । हालै त्यहाँका केही विदेशी विद्यार्थीलाई पक्राउ गरिएको थियो र उनीहरूलाई देश निकाला गरिएको थियो ।

राजधानी वाशिंगटन डीसीमा हजारौं प्रदर्शनकारी डेमोक्र्याटिक सांसदको भाषण सुन्न भेला भए। ती भाषणमा ट्रम्प प्रशासनसँग जोडिएका धनी व्यक्ति एलन मस्कमाथि धेरै टिप्पणी गरियो । अर्बपति मस्क राष्ट्रपति ट्रम्पको सल्लाहकार छन् र उनले सरकारी खर्च र कार्यबल घटाउने कामको नेतृत्व गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us