‘टिके प्रथा’ सदाका लागि अन्त्य हुनुपर्छः झलनाथ खनाल

काठमाण्डु टुडे २०८१ फागुन ९ गते १५:२९ मा प्रकाशित

काठमाण्डू, ९ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी संस्थागत र विधिगत रूपमा चल्न नसकेको भन्दै अध्यक्ष माधव नेपालको कटाक्ष गरेका छन ।

आज (शुक्रवार)बाट जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता खनालले पार्टी निकट विद्यार्थी सङ्गठन र युवा सङ्घमा गम्भीर समस्या देखिएकाले त्यसको निकास विधि र प्रक्रिया बमोजिम दिनुपर्ने उनले बताएका छन उनले जनसङ्गठनहरूमा ‘टिके प्रथा’ सुरु भएको भन्दै अबदेखि ‘टिके प्रथा’ सदाका लागि अन्त्य गर्नुपर्ने धारणा राखे ।

‘कुनै पनि पार्टी र सङ्घ सङ्गठन संस्थागत, विधिगत रूपमा चल्नुपर्छ’, खनालले भने, ‘अबदेखि टिके प्रथा सदाका लागि अन्त्य हुन जरुरी छ ।’ पार्टीभित्र अन्य समस्याहरू पनि रहेको खनालको भनाइ छ । ती समस्याहरू केन्द्रीय कमिटीले हल गर्छ कि अरू कसैले गर्छ ? भन्दै उनले अध्यक्ष नेपाललाई प्रश्न समेत गरे ।

‘स्थायी कमिटीको बैठकले पार्टी र जनसङ्गठनबिच महाधिवेशनपछि गर्नुपर्ने विभिन्न कार्य विभाजनका सिलसिलामा हिजो जे जिम्मेवारी थियो त्यसबाट अन्यत्र जिम्मेवारी दिएर हेरफेर गरेको कुरामा केही भन्नु छैन’, खनालले भने, ‘तर कस्तो प्रक्रियामार्फत जाने ? गरिरहेको जिम्मेवारी चट्ट छाडेर जाने हो कि कसरी जाने रु यसबारे पद्धति विकास गर्न जरुरी छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us