ओलीबारे माधवको टिप्पणीः संविधान मिच्न बानी परेकाहरू कानुन मिच्न पनि अग्रसर छन्

काठमाण्डु टुडे २०८१ फागुन ९ गते १५:०३ मा प्रकाशित

काठमाण्डू, ९ फागुन– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस–एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौती दिंदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको आरोप लगाएका छन ।

शुक्रबार पार्टी केन्द्रीय कमिटिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले भने, ‘संविधानलाई मिच्ने बानी परिसकेका व्यक्तिहरू कानुन मिच्न पनि त्यत्ति नै अग्रसर भएका छन् ।’

साना र प्रतिस्पर्धी दलहरूलाई समाप्त पारेर सिंगो देशमा तानाशाही लागु गर्ने कुचेष्टा भइरहेको अध्यक्ष नेपाले बताएका छन ।

उनले भने, ‘संसदको नियम र नियमावलीलाई मिच्नेदेखि लिएर विधि विधानलाई बेवास्ता गर्ने काम गरिरहको छन् र आफ्ना आलोचक कोही छन् भने तिनीहरूको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेका छन् ।’

दुई दलीय शासन एकदलीय तानाशाही सोच भएको अध्यक्ष नेपालले बताएका छन ।

उनले भने, ‘हाम्रो देशमा अहिले जुन सरकारले शासन गरिरहेको छ त्यो बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौती दिँदै दुई दलीय शासन व्यवस्थालाई अघि बढाउन खोजिरहेको छ,’ उनले भने, ‘दुई दलीयको नाममा एकदलीय तानाशाही लाग्ने सोचभन्दा त्यो भिन्न कुरा छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us