काठमाण्डू, ९ फागुन– काठमाण्डूको कालीमाटीस्थित सडकमा एक पुरुषको शव फेला परेको सूचना प्रहरीमाझ शुक्रबार बिहानै फैलियो । लगत्तै घटनास्थल पुगेर प्रहरीले अनुसन्धान कार्य सुरु गरेको छ ।
अनुसन्धानका क्रममा क्षतविक्षत अवस्थामा शव सडकमा फेला परेको थियो । तर, वरिपरि सवारीसाधन केही थिएन । सवारीसाधनले ठक्कर दिएर भागेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
सो क्रममा सीसीटीभी फुटेजमा एक रोलरले ती व्यक्तिलाई किच्दै अघि बढेको देखिएको थियो । काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले अनुसन्धान अघि बढाउने क्रममा मृत व्यक्ति ५५ वर्षीय सोनु गुरुङ रहेको पत्ता लगायो ।
थप अनुसन्धानको क्रममा सोनुलाई किचेर फरार भएका चालकलाई समेत पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए ।
पक्राउ पर्नेमा मकवानपुर घर भई नागार्जुन नगरपालिका–१० स्युचारटार बस्ने उमेश स्याङ्तान छन् । पक्राउ परेका स्याङ्तानसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत नरहेको पाइएको एसपी आचार्यले जानकारी दिएका छन ।
उनीमाथि थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइने प्रहरीले जानकारी दिएको छ ।