३३ प्रतिशत महिलाको आरक्षण संसारका कमै देशमा होलान्ः देउवा

काठमाण्डु टुडे २०८१ फागुन ७ गते १६:०७ मा प्रकाशित

काठमाण्डू, ७ फागुन– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले आरक्षणको सवालमा नेपाल अगाडि रहेको बताएका छन । (आज) बुधबारबाट सुरु प्रजातन्त्र सेनानी संघको महाधिवेशनलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन ।

उनले ३३ प्रतिशत महिलाको आरक्षण संसारका कमै देशमा भएको पनि बताएका छन । उनले भने, ‘आज समावेशी लोकतन्त्र प्राप्त भएको छ । यो सम्पूर्ण नेपाली दाजुभाईहरूलाई समावेश गराउने खालको समावेशी राजनीति लागू भएको छ,’ सभापति देउवाले भने, ‘हाम्रो देश नेपाल सबैभन्दा अगाडि छ ।

३३ प्रतिशत महिलाको आरक्षण संसारको धेरै कम देशमा होला ।’उनले आफू नेतृत्वको पार्टी पनि पूर्ण समावेशी भएको जिकिर गरे । पार्टीमात्रै नभइ देश नै समावेशी रहेको देउवाको भनाइ थियो ।

उनले थपे, ‘हाम्रोमा आदिवासी जनजाती, मधेशी, थारु सबैको आरक्षण छ हाम्रो संविधानमा । हाम्रो पार्टी पनि त्यसै आधारमा बसेको छ । हाम्रो पार्टी पूरा समावेशी छ । हाम्रो संविधान पूरा समावेशी छ ।

हाम्रो देश नै पूरा समावेशी छ ।’ २५ वर्षपछि हुन लागेको नेपाली कांग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी संघको महाधिवेशन आजबाट १० गतेसम्म चल्नेछ । देउवाले महाधिवेशन सफलताको कामना पनि गरे ।

२०५३ सालमा पहिलोपटक प्रजातन्त्र सेनानी संघको अधिवेशन भएको थियो । तीन वर्षे कार्यकाल हुने प्रजातन्त्र सेनानी संघको दोस्रो अधिवेशन नियमित समयमा हुँदा २०५६ सालमा हुनुपर्ने थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us