रोल्पाको माडीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ फागुन ७ गते १४:५६ मा प्रकाशित

काठमाण्डू, ७ फागुन– रोल्पाको माडी गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–५ का ३६ वर्षीय जिते कुमार रहेको जिल्ला प्रहरी कार्यलय रोल्पाले जानकारी दिएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रोल्पाको माडी गाउँपालिकामा–४ टुपबोटबाट बालुवा लिएर घर्तीगाउँ हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिप्पर मंगलबार राति घर्तीगाउँस्थित सहिदमार्ग सडक खण्डबाट करिब १०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

सडकदेखि करिब ७० मिटर तल चालक जिते मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देव सिंह भण्डारीले जानकारी दिए । उनका अनुसार टिप्परमा चालक मात्रै रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us