सम्पत्ति शुद्धीकरण निवारण प्रणालीले प्रभावकारी रुपमा काम गर्नुपर्छः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ माघ १४ गते १५:१४ मा प्रकाशित

काठमाण्डू, १४ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरण निवारण प्रणालीले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताएका छन ।

प्रधानमन्त्री ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयासमा पनि जोड दिएका छन ।

सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भने, ‘अपराधजन्य कार्यबाट प्राप्त सम्पत्तिको प्रवेश वित्तीय प्रणालीमा हुन नदिई वित्तीय स्वच्छता कायम गर्न सम्पत्ति शुद्धीकरण निवारण प्रणालीले प्रभावकारी रुपमा काम गर्नुपर्छ ।’

यस प्रणालीमा आवद्ध सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायसमेतको समन्वयमा उनले जोड दिएका छन् ।

उनले असल मनसायका साथ आफ्नो पेशा, व्यापार, व्यावसाय गर्नेलाई निर्धक्क भइ काम गर्न समेत आग्रह गरे । ‘वित्तीय क्रियाकलापमा पारदर्शिता सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइएको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ जारी भएको अवसर पारेर नेपाल सरकारले यस वर्षदेखि प्रत्येक माघ १४ गते यो दिवस मनाउने निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us