काठमाण्डू, १३ माघ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्तमान सरकारले भ्रष्टाचार गरिरहेको आरोप लगाएको छ ।
आइतबार सम्पन्न राप्रपा केन्द्रीय समिति बैठकले सरकार भ्रष्टाचारमा संलग्न रहेको र प्रष्टाचारीको संरक्षण गरिरहेको निस्कर्ष निकालेको हो ।
केन्द्रीय समितिको निर्णयको एक नम्बरमै केपी ओली नेतृत्वको वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार उद्देश्यबाट च्यूत भएको र भ्रष्टाचारीमा संरक्षणमा लागेको उल्लेख छ ।
बैठकपछि प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा कांग्रेस र एमालेले ७ बुँदे सहमति गरेर गठबन्धन गर्दा गरिएका प्रतिबद्धताबाट च्युत भएको बताइएको छ ।
राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरता प्रदान गर्न तथा राजनीतिक स्थायित्वकै लागि संविधान संशोधन र तदनुकूलको कानुन निर्माणलाई प्राथमिकता दिने भन्दै सात बुँदे सहमतिमार्फत गठन भएको एमाले–कांग्रेसको गठबन्धन सरकार आफ्नो उद्देश्यबाट च्यूत भएको राप्रपाको निस्कर्ष छ ।
‘भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने, अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यवसायिक वातावरण तयारी गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त रोजगारी सिर्जना गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने, विकास निर्माणलाई तिव्रता दिने काममा सरकार पूर्णतः असफल भएको छ’, श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचारजन्य गतिविधि र भ्रष्टाचारीलाई सरकारबाटै संरक्षण प्राप्त हुनु आपत्तिजनक र उदेकलाग्दो छ ।’
कांग्रेस– एमाले बहुदलीय व्यवस्थाको मूल्य, मान्यता, सिद्धान्त, प्रचलित अभ्यास र मर्मविपरीत चलिरहेको आरोप पनि राप्रपाले लगाएको छ ।
काँग्रेस–एमाले बहुदलीय व्यवस्था मासेर दुई दलीय सर्वसत्तावादतर्फ उन्मुख हुँदै गएको संकेतहरू देखिएको भन्दै राप्रपाले आपत्ति जनाएको छ ।
‘राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन गरेर मुलुकलाई दुई दलीय व्यवस्थातर्फ लैजाने सत्ता पक्षीय नेताहरूको बारम्बारको धम्की एवं हठात् र अनायास संसद्लाई छलेर अध्यादेश ल्याइनु दुई दलीय सर्वसत्तावादको प्रारम्भिक अभ्यासको रुपमा रहेको छ’, राप्रपाले भनेको छ ।