काठमाण्डू, १३ माघ– रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा आइतबार उनलाई आइतबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
बिहीबारयता जारी थुनछेक बहस सकिएसँगै आइतबार रविका वकिलले बहस गरेका थिए । उनीहरूको बहस सकिएपछि सरकारी वकिल र जाहेरवालाले जवाफी बहस गरेका थिए ।
सुप्रिम सहकारी ठगी र संगठित अपराध आरोपमा प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले गत ६ माघमा रूपन्देही जिल्ला अदालतमा लामछिानेविरुद्ध मुद्दा दर्ता गराएको थियो । लामिछाने गत बुधबार अदालतमा हाजिर भएका थिए ।
लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन कसुरमा कास्की जिल्ला अदालतले ६५ लाख र स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन कसुरमा काठमाण्डू जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।