काठमाण्डू, १३ माघ– एमालेको कारबाहीमा परेपछि पूर्व उपाध्यक्ष समेत रहेका नेता डा.भीम रावल यति बेला गृह जिल्ला अछामको भ्रमणमा रहेका छन ।
मातृभूमि जागरण अभियान, नेपालका नामले राजनीतिक अभियान थालेका रावल पार्टी नै बनाउने गरी संगठन निर्माणको काम सुरु गरेका छन । यसैको जग बसाउन रावल गृह जिल्ला पुगेर आफ्ना कुरा बुझाउन प्रयास गरीरहेका छन ।
हालसम्म एकाध तल्लो तहमा एमाले कार्यकर्तालाई रिझाएर आफ्नो अभियानमा जोड्न सफल भए पनि पालिका र जिल्ला स्तरमा एमाले नेतालाई भने उनले आफूसँग उभ्याउन असफ भएका छन ।
यसैबिच आइतबार रावलले फेसबुकमा अछाममै खेलिएको एक डेउडा खेलको भिडिओ सामाजिक सञ्जालमा राखेका छन्। १ मिनेट ३९ सेकेन्डको भिडिओमा रावल आफै डेउडा गीत हालिरहेका सुनिन्छन् भने अन्यले सहयोग गरिरहेका छन्। रावलले उक्त भिडिओ ‘मातृभूमि जागरण अभियान, नेपालको साँफेबगर नगरपालिका, अछाममा नगर स्तरीय भेलाका अवसरमा माघ १२ गते’ खेलिएको भनेर उल्लेख गरेका छन्।
भिडिओमा सुनिने गीतमा पहिलो टुक्काको दोस्रो हरफ मात्रै सुनिन्छ, जसमा ‘बामाल्याको पार्टी अछामबाटी ध्वस्त भयो’ भनिएको छ । यस्तै दोस्रो टुक्कामा ‘गडाको हरियो घाँस आच्छिन्, आच्छिन्, बामालेले खाइसक्यो एमाले आच्छिन्’ भनिएको छ । जसमा रावलले डेउडा गीतमार्फत वास्तविक एमाले नै नरहेको भन्दै एमालेलाई बामालेले खाइसकेको भन्न खोजेको सुनिन्छ ।