मेयरको निर्णय उपमेयरले उल्टाएपछि इटहरीमा लफडा

काठमाण्डु टुडे २०८१ माघ १३ गते १७:३७ मा प्रकाशित

काठमाण्डू, १३ माघ– आज आइतबार बिहान इटहरी उपमहानगरपालिकाका कर्मचारी आफैंले केही घण्टा सेवा अवरुद्ध गरे । उपमेयरसहित केही वडाध्यक्षहरूले कर्मचारीलाई अभद्र व्यवहार गरेको भन्दै कर्मचारीले सेवा अवरुद्ध परेका छन ।

शुक्रबार उपमेयरसहित एमालेका वडाध्यक्षहरूसँग प्रशासन शाखा प्रमुख सञ्जीव खड्काको भनाभन परेको छ । खड्काको कार्यकक्षमा भनाभन भएपछि जनप्रतिनिधिले खड्कालाई बाहिर निकालेर उनको कार्यकक्षमा ताला लगाइदिएका थिए ।

एमाले जनप्रतिनिधहरूका अनुसार खड्काले वडा कार्यालयको सर्भर डाउन गरेपछि विवाद सुरु भएको थियो । कर्मचारी र एमालेबाट निर्वाचित जनप्रतिनिधिको लफडाका कारण कर्मचारीको सरुवा हो । गत २८ पुसमा मेयर हेमकर्ण पौडेल र प्रमुख कार्यकारी अधिकृत रामचरित्र मेहताले ७७ जना कर्मचारीको सरुवा गरेका थिए ।

कर्मचारीको सरुवाको निर्णयपछि पौडेल उपमेयर संगीताकुमारी चौधरीलाई कार्यबाहक दिएर बिदामा बसे । उनी आइतबार मात्रै कार्यालयमा हाजिर भए । पौडेल नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् भने चौधरी नेकपा एमालेबाट निर्वाचित उपमेयर हुन् ।

कर्मचारी सरुवा गर्दा पक्षपात गरेको भन्दै ३ माघमा उमपेयर चौधरीको अध्यक्षतामा बसेको बहुमत कार्यपालिका सदस्य बैठकले सरुवाको निर्णय उल्टाएको थियो । कर्मचारी सरुवा गर्दा मेयर पौडेलले छलफल नगरी कांग्रेसले नेतृत्व गरेको वडा नम्बर १, ६ र १३ सहितका वडा बाहेक एमालेले नेतृत्व गरेका वडाका कर्मचारीको सरुवा गरेको एमाले जनप्रतिनिधिको गुनासो छ ।

उपमेयरले सरुवाको निर्णय उल्ट्याए पनि प्रशासन प्रमुख खड्काले सरुवा भएको क्षेत्रमा जान भन्दै कर्मचारीलाई दबाब दिएका थिए । कर्मचारी सरुवा भएको ठाउँमा जान नमानेपछि खड्काले शुक्रबार वडाको सर्भर नै डाउन गरिदिएको एमाले जनप्रतिनिधिको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us