जनताले पत्याए ०८४ को चुनावमा बहुमत ल्याउन दु:ख छैनः विप्लव

काठमाण्डु टुडे २०८१ माघ १३ गते १६:२९ मा प्रकाशित

काठमाण्डू, १३ माघ– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले ०८४ को निर्वाचनमा समाजवादी अभियानको निम्ति नेकपालाई जिताउन आग्रह गरेका छन । आज आइतबार काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो आग्रह गरेका हुन । उनले नेकपालाई ०८४ को निर्वाचनमा जिताए राष्ट्रिय स्वाधीनताका लागि काम गर्ने पनि बताएका छन ।

नेपाली जनतालाई संसदीय चुनावबाट समाजवादको यात्रामा लैजाने आफूहरुको चाहना रहेको पनि बताए । देशलाई स्वाधीन बनाउने एजेण्डा र नेपाली जनतालाई माथि उठाउने उद्देश्यसहित निर्वाचनमा जान लागेको उनले बताएका छन ।

उनले नेपाली जनताको पैसा, दया, माया नभई विश्वास भए मात्रै पुग्ने बताए। एकपटक नेकपालाई विश्वास गरेको खण्डमा आजको व्यवसाय, उत्पादन वृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता गरे। कसैले पनि हेप्न नसक्नेगरी नेपालको व्यवसायलाई माथि उकास्ने बताए। नेपाली जनताले विश्वास गरे बहुमत वा दुईतिहाइ सिट नेकपाले जित्ने पनि बताएका छन ।

उनले भने, ‘हाम्रो पार्टीले के निर्णय गरेको छ भने एक पटक ०८४ लाई समाजवादी अभियानको निम्ति प्रयोग गर्ने, राष्ट्रिय स्वाधिनताका लागि प्रयोग गर्ने, संसदीय चुनाव हो हामीलाई थाहा छ ।

मान्छेले भनेका छन् हामीलाई तपाईंहरु घुम्दै फिर्दै त्यहीँ आउनुभयो नि त। हो यो चुनाव हो। हाम्रो अपिल छ नेपाली जनतालाई संसदीय चुनावबाट समाजवादको यात्रा लड्ने हाम्रो चाहना छ। देशलाई स्वाधीन बनाउने एजेण्डासहित नेपाली जनतालाई माथि उठाउने उद्देश्यसहित एकचोटि जाने विचार छ। यदि नेपाली जनताले हामीलाई विश्वास गर्नुभयो भने।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us