काम गर्ने अवसर पाइएन भनेर कांग्रेसले गनगन गर्न मिल्दैनः महामन्त्री थापा

काठमाण्डु टुडे २०८१ माघ १३ गते १६:०८ मा प्रकाशित

काठमाण्डू, १३ माघ– कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसले काम गर्ने अवसर पाइएन भनेर गनगन गर्न नपाइने बताएका छन । काम गर्नका लागि छोटै अवधि पनि पर्याप्त हुने विभिन्न उदाहरण दिँदै उनले कामै गर्ने अवसर पाइएन भनेर भन्न नमिल्ने बताएका छन ।

आज आइतबार काठमाण्डूमा भएको मीनकुमारी राणाको प्रतीमा अनावरण, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।

साथै महामन्त्री थापाले एमालेले पनि काम गर्ने समय पाइएन भन्न नमिल्ने पनि बताएका छन । उनले भने, ‘कांग्रेस र एमालेले ०८४ को निर्वाचनको चर्चा गर्नै मिल्दैन ।

त्यहाँसम्म पुग्नका लागि अझै तीन वर्ष छ र काम गर्नका लागि यो अवधि पर्याप्त छ, ‘यो अवधिमा काम गर्न सकेनौँ भने अरु कुराको गनगन गर्न पाइँदैन ।’संघ, प्रदेश र तीन सय ३० पालिकामा कांग्रेस सरकारमा रहेको भन्दै उनले ती सरकारलाई प्रभावकारी बनाउनतिर कांग्रेसको ध्यान जानुपर्ने पनि बताएका छन ।यस्तो अवस्थामा पनि केही गर्न नसके आफूहरू हुनुको कुनै अर्थ नहुने उनले बताए ।

‘यस्तो बेला पनि काम गर्न सकेनौँ भने हामी हुनुको अर्थ हुँदैन । त्यसैले यो तीन वर्ष हामीले काम गरेर देखाउनुपर्छ ।’ उनले बिपी कोइराला, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले नेतृत्व गरेका सरकारको अहिले पनि स्मरण हुने गरेको भन्दै ती सबै सरकार छोटो अवधिका मात्र रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us