वर्तमान सरकार बनेयता आम जनतामा स्थिर सरकार बनेको अनुभूति गरेका छनः एमाले महासचिव पोखरेल

काठमाण्डु टुडे २०८१ माघ १३ गते १४:१४ मा प्रकाशित

काठमाण्डू, १३ माघ– एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकार सञ्चालनमा दुई मुख्य दलबीचको सहकार्य मजबुत रहेको दाबी गरेका छन । आज आइतबार बर्दिबासमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो बताएका हुन ।

महासचिव पोखरेलले मुलुकका दुई मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार सञ्चालनका विषयमा आपसी सहमति र विश्वासमा अघि बढिएको पनि बताएका छन । पोखरेलले राजनीतिक अस्थिरता चिर्न दुई मुख्य दलबीचको सहमति मुलुकको समृद्धि र विकासका लागि भएको पनि बताए ।

उनले भने, ‘हामीबीच कुनै अलमल वा जालझेल केही छैनन्, हामी दुवै दलले स्पष्टताका साथ यो अहिलेको प्रतिनिधिसभाको कार्यकालभरि स्थिर सरकार दिने वाचा गरेका छौँ, ‘सबैले स्पष्ट भए हुन्छ, हामी त्यसैअनुरुप अघि बढेका छौँ।’ पछिल्लो पटक वर्तमान सरकार बनेयता आम जनतामा स्थिर सरकार बनेको अनुभूति भएको उहाँको भनाइ छ ।

यसले आर्थिक सूचकहरुमा क्रमशः सकारात्मक सुधार देखाएको उनले बताए । महासचिव पोखरेलले मुलुकको समृद्धि र विकासका लागि अब हुने निर्वाचनमा कुनै एक दलको स्पष्ट बहुमतको सरकार बन्नुपर्ने उल्लेख गरे ।

यसै अभिभाराबाट निर्देशित भएर आफ्नो दल ‘मिसन–२०८४’ अभियानमा लागेको पोखरेलको भनाइ छ। विसं २०८४ को निर्वाचनमा एमाले स्पष्ट बहुमतका साथ सरकार सञ्चालन गर्ने दृढ सङ्कल्प लिएर अघि बढेको उनले बताएका छन । महासचिव पोखरेलले भने, ‘मुलुकको समृद्धिको सपना एमालेले देखेको छ, मधेस भन्नोस् वा पहाड र हिमाल’, सबै क्षेत्रको सन्तुलित विकास एमाले नेतृत्वमै सम्भव छ।’

अहिले मुख्य विपक्षी दलका नेताले वर्तमान सरकार अप्राकृतिक बनेको भन्दै हिँडेको सन्दर्भ जोड्दै पोखरेलले बढी मत पाउने मुख्य दल मिलेर बनेको सरकार अप्राकृतिक भन्नु सत्ताबाट बाहिरिनु परेको छटपटीमात्र भएको आरोप लगाए ।

उनले एमाले नेतृत्वको सरकारले नै मधेसका सडक फराकिला बनाउने र मधेसलाई हराभरा बनाउन सुनकोसी मरिन डाइभर्सनको काम अघि बढाएको उल्लेख गरे । मधेसी जनतामा अब आफ्नो विकास एमाले नेतृत्वमै हुनसक्ने विश्वास बढ्दै गएको प्रमाण यहाँको प्रदेशसभामा सबैभन्दा ठूलो दल बन्नु पर्याप्त भएको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us