देशमा जनताले पत्याएकाहरुको सरकार छ, आशाको संवाहक प्रधानमन्त्री हुनुहुन्छः शंकर पोखरेल

काठमाण्डु टुडे २०८१ माघ १२ गते १८:२६ मा प्रकाशित

काठमाण्डू, १२ माघ– एमाले महासचिव शंकर पोखरेलले जनताबाट अस्वीकृतहरुले वर्तमान काँग्रेस–एमाले गठबन्धन सरकारविरुद्ध भ्रम फैलाउन खोजेको टिप्पणी गरेका छन् ।

युवा संघ नेपालको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै उनले आफ्ना अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई अप्राकृतिक भनेर जनतालाई दिगभ्रमित पार्न खोजिएको बताएका हुन् ।

काँग्रेस र एमाले जनताले पत्याएका दल भएको र उनीहरुको शासन प्राकृतिक भएको जिकिर उनको थियो ।

पोखरेलले जनताले नपत्याएका दलहरुको शासन अन्त्यका लागि संसदका प्रमुख दुई दलबीच सत्ता गठबन्धन भएको उल्लेख गरे । सरकारमा सँगै भए पनि ०८४ को निर्वाचनमा भने काँग्रेस–एमाले आ–आफ्ना एजेण्डा लिएर जनतामा जाने उनको भनाइ थियो ।

पोखरेलले मुलुक बनाउन संख्यात्मक रुपमा धेरै राजनीतिक दल नचाहिने तर्क गरे । ‘देश बनाउन ठूला र बलिया राजनीतिक दल चाहिन्छ’, उनले भने, ‘अब जनताले अस्वीकार गरेका साना दलले शासन गर्ने दिन गए ।’

पोखरेलले ८४ को निर्वाचनपछि मुलुकमा एमालेको एकल बहुमतको सरकार हुने जिकिरसमेत गरे ।

देशलाई हाँक्न सक्ने स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शीता एमाले र अध्यक्ष केपी ओलीमा मात्र रहेको जिकिर पनि पोखरेलले गरे ।

मुलुक बनाउने काममा अग्रसार भएपछि ओलीमाथि चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको दाबी पोखरेलले गरे ।

‘हाम्रा अध्यक्ष केपी ओलीमा देश बनाउने स्पष्ट विचार र दूरदर्शिता छ । उहाँ आशाको संवाहक हुनुहुन्छ’, पोखरेलले भने, ‘त्यसै कारणले गर्दाखेरि उहाँका विरुद्धमा चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको छ ।’

फरक प्रसंगमा पोखरेलले युवा पुस्तालाई अवसर दिने पार्टी एमाले मात्र भएको पनि जिकिर गरे । अबको युग युवाको भएको र त्यसमा एमालेको साथ रहने उनले उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us