यो सरकार ०८४ सम्म टिकोस् भन्ने चाहना छः प्रचण्ड

काठमाण्डु टुडे २०८१ माघ १२ गते १८:१२ मा प्रकाशित

दाङ, १२ माघ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान काँग्रेस–एमाले गठबन्धन सरकार ०८४ सालसम्म टिकोस् भन्ने पक्षमा आफू रहेको बताएका छन् ।

पार्टी सम्वद्ध पत्रकारको संस्था प्रेस सेन्टरले शनिबार दाङमा गरेको पत्रकार भेटभाटमा उनले ०८४ सम्म यो सरकार टिकिदिए हुन्थ्यो भन्ने आफूहरुको चाहना रहेको बताएका हुन् । तर, सरकार अब धेरै समय नटिक्ने देखिएको उनको दाबी थियो ।

‘उहाँहरू (काँग्रेस–एमाले) ०८४ सम्म मिलिराख्नुभयो भने हामीलाई फाइदा छ भन्ने हाम्रो विश्लेषण छ’, प्रचण्डले भने, ‘तर साँचो कुरा भन्नुपर्छ । उहाँहरू धेरै समय सँगै जान सक्नुहुन्न ।’

प्रचण्डले काँगेस र एमालेभित्रका नेताहरुको गतिवधिले नै सरकार लामो समय नजाने छनक देखिएको जिकिर गरे ।

‘नेपाली कांग्रेसका धेरै साथीहरूले ठीक भएन भनेर बोलिराख्नुभएको छ’, उनले भने, ‘एमालेभित्र उकुसमुकुसको स्थिति छ ।’

प्रचण्डले सरकारले राम्रो काम नगरेको भए पनि आफूहरु सरकार ढाल्ने खेलमा नलागेको प्रष्टीकरण दिए । आफूहरु सरकार ढाल्न नहतारिएको भए पनि यो सरकार आफ्नै भारीले जाने दाबी प्रचण्डले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us