भाटभटेनीले तिर्नुपर्ने कर दोब्बर पारिदिने दुई जना पक्राउ

काठमाण्डु टुडे २०८१ माघ १२ गते १७:३५ मा प्रकाशित

काठमाण्डू, १२ माघ– प्रहरीले भाटभटेनी सुपर मार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत प्रवेश गरेर तिर्नुपर्ने भन्दा दोब्बर पारिदिने दुई जनालाई नियन्त्रणमा लिएको छ ।

आन्तरिक राजस्व कार्यालयको कर प्रणालीमा आबद्ध भाटभटेनी सुपर मार्केटको कर खाताको ‘युजर आइडी’ र ‘पासवर्ड’ दुरुपयोग गरेर दोब्बर कर तिर्नुपर्ने गरी विवरण गरिदिने दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को आग्रहमा चितवन प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेमा पर्वतको विहादी गाउँपालिका–३ स्थायी घर भई चितवन बस्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखाको भीमसेन थापा गाउँपालिका–४घर भई चितवन बस्ने २२ वर्षीय पारिन पाण्डे रहेको स्रोतले जानकारी दिएको छ ।

उनीहरूले भाटभटेनीको कर प्रणालीमा प्रवेश गरेर राजस्वको दायरा भित्र आउने दुई अर्ब ३४ करोड १६ लाख ४२ हजार ८१६ रुपैयाँको कर दायित्व (कर तिर्नुपर्ने रकम) छ करोड २६ लाख ९४ हजार १९ रुपैयाँलाई बढाएर १३ करोड नौ लाख ५९ हजार ६०९ पुर्‍याइदिएको प्रहरीले जनाएको छ । यसरी उनीहरूले राज्यको कर सूचना प्रणालीमा अनधिकृत प्रवेश गरेर भाटभटेनी सुपर मार्केटले तिर्नुपर्ने राजस्व दोब्बर पारेर कसुर गरेको सिआइबीले जनाएको छ ।

दुवै जनालाई सिआइबीले चितवन महानगरपालिका–३ स्थित बिहादी बिजनेस म्यानेजमेन्ट नामक अडिट कम्पनीको कार्यालयबाट पक्राउ गरेको हो । सिआइबीले त्यो अडिट कम्पनीका सञ्चालकलाई समेत खोजिरहेको छ। भाटभटेनीको लेखा प्रणालीमा अनधिकृत करमा हेरफेर भएपछि आन्तरिक राजस्व कार्यालय लाजिम्पाटले पुस २५ गते सिआइबीलाई पत्र लेखेर अनुसन्धानका लागि आग्रह गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us