प्रचण्ड कांग्रेस फुटाउन शेखरलाई उक्साउँदै छन्ः एमाले नेता महेश बस्नेत

काठमाण्डु टुडे २०८१ माघ १२ गते १६:३४ मा प्रकाशित

काठमाण्डू, १२ माघ– पूर्व मन्त्री एवं नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले कांग्रेस विभाजन गर्ने खेलमा लागेको आरोप लगाएका छन ।

सोहि अनुसार उनले कांग्रेस नेता डा.शेखर कोइरालालाई प्रयोग गरीरहेको आरोप लगाएका छन । आज (शनिबार) एमाले निकट राष्ट्रि युवा संघले काठमाण्डूमा आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले नेता बस्नेतले कांग्रेस फुटाउन प्रचण्डले अहिले नेता डा.कोइरालालाई उक्साइरहेको आरोप लगाएका हुन ।

कार्यक्रममा बोल्दै एमाले नेता बस्नेतले भने, ‘कांग्रेस र एमालेलाई खेलाएर १८ महिना प्रधानमन्त्री भएका प्रचण्ड सत्ताबाहिर आएपछि कहिले शेरबहादुर देउवाकहाँ धाएर तपाईँ प्रधानमन्त्री भइदिनुपर्‍यो, मसँग विपक्षी ८० सांसद छन् भन्ने भन्न भ्याउँछन्,’ बस्नेतले भने,‘यिनै प्रचण्ड शेखर कोइरालाहरूलाई राखेर कांग्रेस विभाजन गरिदिनुपर्‍यो, भन्न पनि भ्याउँछन् ।’दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आडमा यसो गरिरहेको पनि बस्नेतले बताए ।

‘तपाईँ माधवकुमार नेपालको आडमा यस्तो गरिरहनुभएको छ। आज माओवादीका जनार्दन शर्मालगायतका क्रान्तिकारी साथीहरूलाई तपाईँ सम्झाउन सक्नुहुन्छ ?,’ बस्नेतले प्रश्न गरे । माओवादी केन्द्रकै १५/१६ जना सांसदले विद्रोह गर्ने स्थिति बनेको पनि बस्नेतले दाबी गरे।

‘त्यसलाई तपाईँ रोक्न सक्नुहुन्छ ? म माधव नेपाललाई सोध्न चाहन्छु–तपाईँको पार्टी हो कि क्लब हो ? तपाईँको पार्टीका १० जनामध्ये जति मन्त्री दियो, उति फोड्न तयार छन्,’ बस्नेतले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us