अहिले भूमाफिया, दलाल, बिचौलियाहरू र जालीझेलीहरूका विरुद्ध माओवादी आमनेसामनेको स्थितिमा छः प्रचण्ड

काठमाण्डु टुडे २०८१ माघ १२ गते १५:३५ मा प्रकाशित

काठमाण्डू, १२ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमै सीमित हुन दिन नहुने नेता कार्यकतालाई अपिल गरेका छन । आज शनिबार माओवादी केन्द्र दाङको तेस्रो घोराही नगर सम्मेलन उद्घाटन तथा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

प्रचण्डले समाजवादतिरको यात्रामा ढिलाइ गर्न नहुने पनि बताएका छन । अध्यक्ष प्रचण्डले जनयुद्ध चलिरहेकै बेला आफूहरूले यो गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन दिनेछैनौँ भनेर विश्वलाई नै भनेको चर्चा गर्दै उनले समाजवादको यात्रामा अब ढिला गर्न नहुने पनि बताएकान छन ।

उनले भने, ‘हामीले यो गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन दिने छैनौँ भनेर विश्वसमुदायलाई अपिल गर्दै युद्धको मैदानबाटै समाजवादतिरको यात्रा आरम्भ गरेको संकल्प लिएका थियौँ,’ उनले भने, ‘ती दिनलाई स्मरण गर्न र संकल्पअनुसार अघि बढ्न म विशेष रूपले अपिल गर्न चाहन्छु ।’

अहिले भूमाफिया, दलाल, बिचौलियाहरू र जालीझेलीहरूका विरुद्ध माओवादी आमनेसामनेको स्थितिमा रहेको उनको भनाइ थियो । उनले शान्तिपूर्ण संघर्षको माध्यमबाट तिनलाई परास्त गर्दै जनतालाई साच्चै अधिकारसम्पन्न बनाउनेतर्फ अग्रसर हुनुपर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us