काठमाण्डू, ११ माघ–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परेका नेपालीहरूप्रति अभिभावकीय भूमिका निर्वाह गर्न सरकारसँग अनुरोध गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले दुर्घटनामा परी निधन भएका परिवार र घाइतेको उपचारमा गम्भीर हुन पनि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सामाजिक सञ्जालमार्फत प्रचण्डले भनेका छन्, ‘दुर्घटनामा घाइते भएका आफ्ना नागरिकको उपचार तथा निधन भएका नागरिक र उनका परिवारप्रति तत्काल अभिभावकीय भूमिका पूरा गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’
घटनाप्रति दुःख व्यक्त गर्दै उनले दुर्घटनामा सात नेपालीसहित भारतीय नागरिकको निधन भएको र अरू थुप्रै घाइते भएको खबरले स्तब्ध बनाएको बताए ।