काठमाण्डू, ११ माघ– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको दाबी गरेका छन । आज शुक्रबार पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्चाउने तत्त्वहरुले चलाएको हल्लाको पछि नलाग्न आग्रह गर्दै एमाले र काँग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्व सहमतिबमोजिम अघि बढ्ने बताएका छन ।
प्रधानमन्त्री ओलीले पाल्पा एक ऊर्बर भूमि र साक्षर जिल्ला भएकाले विकास निर्माणको मार्गलाई अझ तीव्ररुपमा अगाडि बढाउन आग्रह गर्दै केही मानिसले विकासका कामलाई सुन्न नचाहेर विकासविरोधी कुरा गरिरहे पनि त्यस्ता कुराहरुको अर्थ नहुने बताएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।