काठमाण्डू, ११ माघ– धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दोस्रो जवाफ पत्र पठाएका छन ।
मेयर राईले शुक्रवार अख्तियारले माघ २ गते गरेको सोधपुछको जवाफ फर्काउँदै धरानको खानेपानी बोर्ड स्वायत्त निकाय भएको र बोर्डले नगरवासीलाई पानीको आपूर्ति गर्न सवै खाले विधि अपनाउन सक्ने दाबी गरेका छन ।
साथै उनले खानेपानीको काम गर्दा उजुरी हाल्नेले कति वटा पाइप किनेर ल्यायो भनेर प्रश्न समेत गरेका छन । मेयर हर्कले अख्तियारलाई भनेका छन्, ‘त्यो वाहियात उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो ? कति दिन श्रमदान गर्यो ? को हो त्यो ? बुझेर लेखिपठाउनुहोला’ ।
उनले पानी भनेको विकास नभई जीवनको आधारभूत आवश्यकता भएको भन्दै श्रमदान अभियानको खेदो नखन्न आग्रह समेत गरेका छन् । ‘श्रमदान अभियानको खेदो नखन्नु है नखन्नु तिर्खाएका मानिसहरूको श्राप लाग्ला’, उनले भनेका छन्, ‘पानीमा राजनीति गर्नुहुँदैन । पानी माग्न जनता त्यता हाउलान् है फेरि ।’ मेयर राईले यसअघि पनि अख्तियारलाई जवाफ पठाएका थिए ।