काठमाण्डू, ११ माघ– काभ्रेको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने महाभारत जंगलमा गत मंगलबार दिउँसो २ बजेबाट लागेको आगो आज हेलिकोप्टरबाट निभाउन सुरु गरीएको छ ।
आगलागी भएको चार दिनसम्म पनि यहाँको डढेलो नियन्त्रणमा आउन नसकेको बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिएका छन ।
अध्यक्ष अधिकारीका अनुसार शुक्रबार दिउँसोबाट हेलिकोप्टरमार्फत् पानी लगेर खन्याएर आगो नियन्त्रणको प्रयास भइरहेको छ । बेथानचोककै वडा नम्बर २ मा पर्ने गुवाभन्ज्याङस्थित पार्कमा बनाइएको पाखेरीबाट पानी लिएर हेलिकोप्टरले आगलागी भएको स्थानमा खन्याउन थालेको हो ।
सिम्रिक एयरको हेलिकोप्टरबाट आगलागी नियन्त्रणका लागि पानी खन्याउने काम भइरहेको अध्यक्ष अधिकारीले जानकारी दिए । वन्यजन्तु र जडिबुटीका लागि प्रख्यात मानिने यस जंगलको एक सय हेक्टरभन्दा बढी भू–भाग आगलागीबाट सखाप भइसकेको पनि अध्यक्ष अधिकारीले जानकारी दिएका छन ।