काभ्रे, ११ माघ– काभ्रेको महाभारत सामुदायिक वनमा लागेको आगलागी नियन्त्रणका लागि नेपाली सेना परिचालन गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सेनासहित सबै सुरक्षा निकायको एकीकृत परिचालन गर्ने निर्णय गरेको हो ।
महाभारतमा मंगलबारदेखि लागेको आगो नियन्त्रणबाहिर छ । सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो निभाउने पयास जारी राखेका छन् । आगलागीका कारण काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र नारायणस्थान जान रोक लगाइएको छ ।
बेथानचोकको गाउँपालिकाले सार्वजनिक सूचनामार्फत आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई नारायणस्थान जान रोक लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार सेना र प्रहरीले स्थानीयसँगको समन्वयमा आगलागी नियन्त्रणको प्रयास गरिरहेको बताए । मानव बस्तीमा आगलागी प्रवेश गर्न नदिन उच्च सतर्कता अपनाइएको उनको भनाइ छ ।