काठमाण्डू, १० माघ– सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सुशासनका लागि अध्यादेश ल्याएको दाबी गरेका छन् ।
रुपन्देहीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले सुशासन कायम गर्न ल्याएको अध्यादेशको कुरा नबुझी विरोध भइरहेको जिकिर गरे ।
‘सरकराले मुलुक र नागरिकका लागि सुशासन कायम गर्न पुराना कानूनलाई अध्यादेशमार्फत संशोधन गर्न खोजेको हो’, उनले भने, ‘अध्यादेशको विरोध गर्नुभन्दा पनि यसको विषयवस्तुमा ध्यान दिन आग्रह गर्छु ।’
उनले राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुने बताए । संविधान संशोधनका विषयमा प्रतिपक्षले अनावश्यक प्रचार गरेको आरोप उनको थियो । सत्तारुढ कांग्रेस– एमालेले संशोधनका लागि एजेण्डा तयार गर्ने र त्यसलाई राष्ट्रिय छलफलमा लैजाने उनको भनाइ थियो ।
फरक प्रसंगमा गुरुङले सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय समितिको सिफारिसका आधारमा सरकारले ठगहरुमाथि कारबाही अघि बढाएको जिकिर गरे ।