काठमाण्डू, १० माघ–कांग्रेस महामन्त्री एवं सरकार सञ्चालनका लागि गठित संयन्त्रका सदस्य गगन थापाले सरकार आफैंले रोजगारी दिन नसक्ने बताएका छन् ।
नवलपरासीको प्रतापपूर–२ स्थित आदर्श क्याम्पसमा बिहीबार भएको एक कार्यक्रममा थापाले पाँच लाख मानिसलाई रोजगारी दिनुपर्ने अवस्था रहेको भए पनि प्रधानमन्त्रीले चाहेर पनि ५ लाखलाई रोजगारी दिन नसक्ने थापाले बताए ।
सेना, प्रहरी र अस्पताल लगायतमा ५ वर्षमा २० हजारलाई मात्र रोजगारीको अवसर सृजना हुने उनको भनाइ थियो ।
‘जो कोही प्रधानमन्त्री भए पनि वर्षको पाँच लाखलाई नेपालमा रोजगारी दिनुपर्छ’, थापाले भने, ‘कसैले सबैलाई रोजगारी दिन्छु भन्यो भने भने प्रहरी, सेना र अस्पतालमा जम्मा २० हजारका लागि जागिर दिन सकिन्छ ।
रोजगारी दिने काम निजी क्षेत्रले मात्र गर्न सक्ने उनको भनाइ थियो । ‘ससारभर रोजगारी सरकारले होइन, निजी क्षेत्रले दिन्छ’, थापाले भने, ‘सरकारले रोजगारी दिन्छु भन्यो भने नपत्याउनु । कसैले पनि दिन सक्दैन । सरकारले केबल वातावरण बनाउन सक्छ ।’
बजारको मागअनुसार विद्यार्थीलाई शिक्षा दिन सकिए क्षमताका आधारमा निजी क्षेत्रले काम दिन सक्ने थापाले उल्लेख गरे ।
नेपालमा रोजगारी नपाएका कारण युवा जनशक्ति बाहिरिने गरेको थापाले बताए । सरकार र निजी क्षेत्रले रोजगारीको वातावरण बनाए कामका लागि बाहिरिनुपर्ने अवस्था अन्त्य हुने विश्वास थापाले व्यक्त गरे ।