प्रधानमन्त्रीलाई युवराजको चेतावनीः सामाजिक सञ्जालको नियमनमा कडाइ गर्नु, नत्र अदालत जान्छु

काठमाण्डु टुडे २०८१ माघ १० गते १८:३४ मा प्रकाशित

काठमाण्डू, १० माघ– सामाजिक अभियन्ता युवराज सफलले सामाजिक संजाल नियमन र नियन्त्रणका लागि सरकारलाई तत्काल कडाइ गर्न माग गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएका छन ।

पत्रमा सामाजिक संजालले समाजमा सद्भाव विथोल्ने, अश्लीलता फैलाउने र आपराधिक गतिविधि प्रोत्साहन गर्ने जस्ता कार्यहरू भइरहेको उल्लेख गर्दै तत्काल सुधारका लागि ठोस कदम चाल्न आग्रह गरीएको छ ।

पत्रमा सफलले नेपालमा सामाजिक संजालका एपहरू, जस्तै फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम, पोपो, बिगो, टेलिग्राम र ह्वाट्सएपको प्रयोग व्यापक भए पनि यसको नियमन र नियन्त्रण प्रभावकारी रूपमा हुन नसकेको बताएका छन्। समाजिक संजालका प्लेटफर्महरूबाट जातीय, धार्मिक र सामाजिक सद्भाव विथोल्ने, मानहानी र चरित्र हत्या गर्ने तथा ठगीजस्ता गतिविधि बढिरहेको भन्दै यस्ता गतिविधिहरूमा संलग्न व्यक्तिहरूलाई कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्ने उनले पत्रमा उल्लेख गरेका छन ।

फेसबुक र इन्स्टाग्राम खाता खोल्नका लागि प्रयोगकर्ताले नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा प्यान नम्बरजस्ता सरकारी कागजात अपलोड गर्नुपर्ने व्यवस्था गर्न उनले सरकारसँग आग्रह समेत गरेका छन ।

साथै, फेक अकाउन्ट पहिचान गरी स्थायी रूपमा ब्लक गर्ने, सामाजिक सद्भाव विथोल्ने सामाग्री स्वतः डिलिट हुने र त्यस्ता सामाग्री पोष्ट गर्ने अकाउन्ट बन्द गरिने नीतिलाई लागू गर्न माग समेत उनले गरेका छन ।

यस्तै, फेसबुकलाई मोनेटाइज गर्ने व्यवस्था गरी प्रयोगकर्तालाई आम्दानीको अवसर दिन र सो आम्दानीलाई करको दायरामा ल्याउने सुझाव पनि पत्रमा उल्लेख गरीएको छ । उनले टिकटकमा आपत्तिजनक भिडियो र कमेन्टलाई स्वतः डिलिट हुने व्यवस्था गर्न, अश्लीलता फैलाउने गतिविधिमा संलग्नलाई कानुनी कारबाही गर्न, र टिकटक मोनेटाइज गरी आम्दानी गर्नेहरूलाई करको दायरामा ल्याउन पनि माग गरेका छन्।

पत्रमा युट्युबका च्यानल खोल्न प्रयोगकर्ताको आधिकारिक सरकारी कागजात अनिवार्य गरिनुपर्ने र फेक सामाग्री प्रसारण गर्ने च्यानलहरू बन्द गर्नुपर्ने उल्लेख छ। यस्तै, पोपो, बिगो, टेलिग्राम र ह्वाट्सएपजस्ता एपहरूको ठगी र सामाजिक विसंगतिमा संलग्नता रोक्न सरकारको कडा निगरानी आवश्यक भएको सफलले बताएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us