काठमाण्डू, १० माघ– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टी अहिले पनि कमजोर अवस्थामा नभएको बताएका छन ।
कार्यवाहक सभापति अर्यालले सभापति रवि लामिछाने पक्राउ पर्नुभन्दा अघिकै अवस्थामा रास्वपा रहेको बताएका छन । आज बिहिबार न्युज एजेन्सी नेपालसँग कार्यवाहक सभापति अर्यालले भने, ‘रास्वपा फैलँदो अवस्थामा छ ।
रास्वपा इन्स्ट्यिुसन (संस्था) बनिसकेको छ । यो पार्टी आफैंमा संस्था बनिसकेको छ, ‘त्यसकारण पार्टी सभापति आफ्नो कानुनी लडाईं लड्दै गर्दा पनि पार्टी आफ्नो ठाउँमा चलिरहेको छ ।
अहिले रास्वपा सभापति पक्राउ पर्नुभन्दा अगाडिकै अवस्थामा छ । कमजोर छैन ।’ सभापति लामिछाने हिरासतमा हुँदा पार्टीलाई अझै स्थापित गर्न आफूहरू लागिरहेको उनले बताएका छन ।
‘पार्टी सभापतिले कानुनी लडाईं लड्दै गर्दा हामी पार्टीलाई अझै स्थापित गर्दै जानुपर्छ भन्ने कुरालाई लिएर अगाडि बढिरहेका छौं,’ उनले भने, ‘त्यो स्थापित गर्नु भनेको जनताको मुद्दामा बसहगर्नु नै हो मुद्दालाई अपनत्व दिनु हो ।
त्यसकारण रास्वपा अझै बलियो भएर अघि बढेको छ ।’ अबको अधिवेशनबाट राम्रो उपस्थिति देखाउन सकिन्छ भन्ने आफूहरूलाई लागेको पनि उनले बताएका छन ।