सरकारी वकिलको बहसः बुटवल–११ बाट ऋण लिने रवि नै हुन्

काठमाण्डु टुडे २०८१ माघ १० गते १४:५८ मा प्रकाशित

काठमाण्डू, १० माघ– सरकारी वकिलहरूले बुटवल–११ को ठेगानामा सुप्रिम सहकारीबाट लगानी भएको ऋणको जिम्मेवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नै भएको जिकिर गरेका छन ।

रुपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहसमा बहस गरिरहेका सरकारी वकिलहरूले बहसका क्रममा कागजपत्रले उक्त ठेगाना राखेर प्रवाह भएको ऋण गोर्खा मिडिया नेटवर्कमै गएको दाबी गरेका छन ।

इजलासमा सरकारी वकिलले भनेका छन् , ‘बुटवलको वडा नम्बर ११ को ऋण लिनका लागि निवेदन दिने रवि लामिछाने म होइन भनेर भन्नुभएको छ, ‘तर कागजपत्रले ऋण उहाँकोमा नै गएको देखिन्छ ।

ऋण उहाँले नै चलाउनुभएको छ ।’गोर्खा मिडिया नेटवर्कको पूँजी बढाएर १२ करोड पुर्‍याउनले बेलामा १५ प्रतिशत शेयर वापत रविले १ करोड ८० लाख रुपैयाँ हाल्नुपर्ने अवस्था सिर्जना भएको थियो । उक्त रकम बुटबलको सुप्रिम सहकारीबाट ल्याएको पाइएको संसदीय विशेष छानविन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

रवि लामिछाने, बुटवल ११ को ठेगानामा फर्जी ऋणी खडा गरेर रकम निकालिएको समितिको प्रतिवेदनले भनेको छ । रविले भने आफू उक्त ठेगाना भएको व्यक्ति नभएको जिकिर गरेका थिए ।

यो मुद्दामा ७ जना सरकारी वकिलहरूले बहस गर्दैछन् । बिहीबार खाजा ब्रेकअघि ७ मध्ये ४ जनाको बसह सकिएको छ भने ३ जनाको बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us