रविको मुद्दामा सरकारी वकिलले न्यायाधीशलाई भने: तपाईंले हेर्न मिल्दैन

काठमाण्डु टुडे २०८१ माघ १० गते १४:५१ मा प्रकाशित

काठमाण्डू, १० माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानको जिल्ला अदालत रुपन्देहीमा थुनछेक बहस जारी छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा दायर भएको मुद्दामा बयानका लागि लामिछाने हिजो (बुधबार) अदालत उपस्थित भएका थिए । बुधबार दिनभर न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बयान भएको थियो ।

आजबाट उनको थुनछेक बहस सुरु भएको छ । थुनछेक बहस सुरु हुनुअघि सरकारी वकिलहरूले न्यायाधीश योगीमाथि प्रश्न उठाएका छन् । थुनछेक बहसका लागि अदालतमा उपस्थित गराइएका प्रतिवादीलाई परिवारको जिम्मा लगाएर छाडेको भन्दै सरकारी वकिलले प्रश्न उठाएका हुन् । यो मुद्दामा न्यायाधीश योगीले ‘रिक्युजल’ लिनुपर्ने सरकारी वकिलहरूको तर्क थियो ।

कानुनी भाषामा रिक्युजल भन्नाले ‘मुद्दा हेर्न नमिल्ने घोषणा’ भन्ने अर्थ लाग्छ । ‘तपाईं (न्यायाधीश)ले हिजै परिवारको जिम्मा लगाएर छाडेपछि थुनछेकको क्रममा बयान दिन आएको मान्छेलाई त्यसरी छाड्न मिल्दैन,’ इजलासमा थुनछेक बहस सुरु हुनअघि सरकारी वकिलले भने, ‘न्यायाधीशको एक किसिमको मानसिकता देखिइसकेको छ ।

न्यायाधीशले के आदेश गर्छन् भन्ने यसले प्रतिबिम्बित गर्छ । त्यसकारण श्रीमान्‌ले यो मुद्दा नहेर्दा राम्रो हुन्छ ।’ सहकारी पीडितका तर्फबाट बहस गर्न इजलासमा पुगेका वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले पनि सोही कुरा इजलासमक्ष राखेका थिए ।

प्रतिवादी तर्फका वकिलहरूले भने ‘रिक्युजल’ आवश्यक नभएको जिकिर गरे । त्यसपछि न्यायाधीश योगीले आफू मुद्दाबाट पछि नहट्ने अडान लिएपछि थुनछेक बहस सुरु भएको इजलास स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us