भंगाल चोकबाट चितुवाको उद्धार

काठमाण्डु टुडे २०८१ माघ १० गते १२:२२ मा प्रकाशित

काठमाण्डू, १० माघ– काठमाण्डूको बूढानीलकण्ठ नगरपालिका– १३ भंगाल चोकबाट एक चितुवाको उद्धार गरिएको छ । वन कार्यालयको टोलीले डार्ट गरेर विहीबार बिहान चितुवाको उद्धार गरीएको वन डिभिजन कार्यालय काठमाण्डूका प्रमुख पुष्पराज बर्तौलाले जानकारी दिएका छन ।

बिहान करिब साढे ८ बजेतिर चितुवा देखिएको सूचना पाएपछि डिभिजन वन कार्यालय काठमाडौंबाट शंकर थापा नेतृत्वको टोली परिचालित भएको थियो । सो टोलीले एकपटक डार्ट गरेर बिहान ११ बजेतिर चितुवा नियन्त्रणमा लिएको वन डिभिजन कार्यालय प्रमुख बर्तौलाले जानकारी दिए । उनले भने, ‘चितुवालाई सुरक्षित रूपमा उद्धार गरेर थप उपचार र अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ ।’

उद्धार टोलीमा संलग्न सवडिभिजन वन कार्यालय गोकर्णका प्रमुख अशोक पराजुलीले शारीरिक रुपमा स्वस्थ रहेको सो चितुवा शिकारको खोजीमा शहरी क्षेत्रमा प्रवेश गरेको हुनसक्ने अनुमान गरे । ‘यो चितुवा आसपासको जंगलबाट आएको हुनसक्छ ।

यस क्षेत्रमा चितुवा प्रायः देखिने गरेको छ,’ उनले भने । उद्धारका क्रममा चितुवालाई नियन्त्रणमा लिन स्थानीयहरू ठूलो संख्यामा उपस्थित भएका थिए । जसका कारण उद्धार कार्य केही चुनौतीपूर्ण भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us