काठमाण्डू ८ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बुटवल जाने भएका छन ।
बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी बुटवल जान लागेका हुन् । लामिछाने अहिले त्रिभुवन विमानस्थलमा रहेको उनी निकट स्रोतले जानकारी दिएको छ ।
दिउँसो २ बजेर ४० मिनेटको उडानमा उनी भैरहवा जान लागेको भए पनि केहीबेर विमान डिले हुँदा अहिले विमानस्थलमै रहेको रास्वपा स्रोतले जानकारी दिएको छ । उनी भोलि आफैं अदालत उपस्थित हुने बताइएको छ ।
लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । लगत्तै उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए । काठमाण्डूमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए ।
उनी धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । कास्की प्रहरीमा अनुसन्धान भइरहेकै बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो ।
त्यसपछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए । यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।