काठमाण्डू, ८ माघ– काँग्रेस र एमालेका कर्णाली प्रदेशका नेताहरुबीचको असन्तुष्टि छताछुल्ल हुन थालेको छ ।
संघीय र प्रदेश सरकारमा सत्ता सहकार्य गरिरहेका प्रमुख दुई दलका नेताबीच सार्वजनिक रुपमै जुहारी सुरु भएको छ ।
काँग्रेस कर्णाली प्रदेश सभापति एवं संसदीय दलका नेता जीवनबहादुर शाहीले सोमबार प्रदेशसभा बैठकमा बोल्दै सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका थिए ।
उनले प्रदेश सरकार एकलौटी अघि बढ्ने र गल्ती सुधार नगर्ने भए केही दिनमै आफूहरु सरकारबाट बाहिरिने चेतावनी दिएका थिए । कर्णालीमा एमाले नेता यमलाल कँडेल मुख्यन्त्री छन् । सरकारमा रहेका एमाले नेताहरुले आफूहरुसँग समन्वय नगरी एकलौटी निर्णय गर्ने गरेको तथा विभिन्न बहानामा विकास निर्माणका काममा भाँजो हालेको आरोप शाहीको थियो ।
शाहीलाई एमाले नेता विष्णु रिजालले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका छन् । रिजाल पनि कर्णाली (दैलेख जिल्ला) का नेता हुन् । गठबन्धनभित्रैबाट विपक्षीले भन्दा चर्को विरोध गर्नु शाहीको राजनीतिक दरिद्रता भएको टिप्पणी गरेका छन् । शाहीका कारण काँग्रेस र एमालेबीच गठबन्धन नबनेको र उनले चाहँदैमा भत्काउन पनि नसक्ने तर्क रिजालको छ ।
असमझदारी हुन सक्छन् भनेरै प्रदेशस्तरमा पनि दुई दलबीच संयन्त्र बनेको भन्दै रिजालले बैठक राखेर चित्त नबुझेका कुरा गर्नुपर्नेमा सार्वजनिक खपतका लागि फोन नउठाएकै कारण सरकार छाड्ने कुरा गर्नुले काँग्रेस नेताहरुको सोचाइको स्तर मापन गर्ने उनको भनाइ छ ।
‘कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका नेताले आफ्नै गठबन्धनको विपक्षीले भन्दा चर्को विरोध गरेर राजनीतिक सहकार्यको दरिद्रता देखाउनुभएछ । यद्यपि, प्रदेशमा एमाले-कांग्रेसको गठबन्धन उहाँले बनाउनुभएको पनि होइन, भत्काउन सक्ने पनि होइन’, रिजालले लेखेका छन्, ‘असमझदारी हुन सक्छन् भनेरै प्रदेशस्तरमा पनि दुई दलबीच संयन्त्र बनेको छ । बैठक राखे हुन्छ, चित्त नबुझेका कुरा गरे हुन्छ । तर, सार्वजनिक खपतका लागि एउटा फोन नउठाएका कारण सरकार नै छाड्ने कुरा गर्नुले साथीहरूको सोचाइको स्तर मापन गर्दछ ।’