सुर्खेत, ७ माघ– काँग्रेस कर्णाली प्रदेशका नेता जीवनबहादुर शाहीले एमाले नेतृत्वको सरकार छाड्ने चेतावनी दिएका छन् ।
शाहीले सरकारमा बस्ने कि नबस्ने भन्नेमा पुनर्विचार गर्ने बताए । एमालेले प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढालाई पदमुक्त नगरे सरकार छाड्ने बताए ।
कर्णाली प्रदेशसभा बैठकमा सोमबार बोल्दै शाहीले मन्त्री बुढाबारे तत्काल निर्णय नलिए सरकार छाड्ने चेतावनी दिए ।
हुम्लामा संघीय सरकारको समपूरक अनुदानमा दुई वर्षदेखि अगाडि बढाउन खोजिएको आयोजना स्रोत सुनिश्चितताका नाममा मन्त्री बुढाले रोक्न खोजेको उनको भनाइ थियो ।
‘म यहाँ आइसकेपछि मेरो भाइ पनि हुन्, मैले आज भन्नुपर्ने हुन्छ । भौतिक मन्त्रीलाई मैले चार/पाँचपटक फोन गरेँ । तर फोन उठेन । जे भए पनि उसले सोच्यो होला जीवन शाही गइसक्यो आउँदैन । यसको किन फोन उठाउने भन्ने उसलाई पर्यो होला’, शाहीले भने ।
शाहीले संघीय सरकारको समपुरक बजेटमा स्रोत सुनिश्चित चाहिँदैन भन्न फोन गर्दा नउठेको बताए ।