कोशीका पूर्वमुख्यमन्त्री थापा भन्छन्ः भीआईपी भनेर ओभरटेक गर्न खोज्दा ममाथि आक्रमण भयो

काठमाण्डु टुडे २०८१ माघ ७ गते १८:०७ मा प्रकाशित

विराटनगर, ७ माघ– काँग्रेस कोशी प्रदेश अध्यक्ष एवं कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले सरकारले सुरक्षा दिन नसकेको बताएका छन् ।

सोमबार प्रदेशसभामा बोल्दै पूर्वमुख्यमन्त्री समेत रहेका थापाले कोशीमा सुरक्षा अवस्था कमजोर रहेको टिप्पणी गरे ।

उनीमाथि दुई दिनअघि झापामा दुई युवाले आक्रमण गरेका थिए । आक्रमणबाट उनको निधारमा चोट लागेको छ । थापाले आफूमाथि नियोजित रुपमा हमला नभएको स्पष्ट गरे ।

आफूलाई घर फर्कन हतार रहेको र चालकले अगाडिको गाडीलाई ओभरटेक गर्न हर्न बजाएपछि रिसाएर उक्त गाडीमा सवार व्यक्तिहरुले आक्रमण गरेको उनको भनाइ छ ।

‘ममाथि कुनै नियोजित घटना भएको होइन । उद्देश्य बोकेर घटना भएको पनि होइन । मलाई घरजान हतार थियो । ओभरटेक गर्न मेरो चालकले हर्न बजाए । अगाडिको गाडीले साइड दिन चाहेन’, थापाले भने, ‘डाइभर्सनमा पुगेपछि अगाडिको गाडी रोकियो । मेरो सेक्युरेटीले किन साइड नदिएको भनेपछि आक्रमण भयो । यसलाई मुद्दा नबनाऔं ।’

आफ्ना सुरक्षाकर्मीले भीआईपीलाई किन साइड नदिएको भनेपछि ‘भीआईपी लाई किन साइड दिनुपर्ने भन्दै आक्रमण भएको उनले बताए ।

सुरक्षाकर्मीले भीआईपीलाई साइड नदिए पनि सडक सबैको भएको बताए पनि उनलाई पन्छाएर आफूमाथि हमला भएको उनले उल्लेख गरे । आफूमाथि आक्रमण गर्नेलाई प्रतिकार गर्न खोजे पनि साथीहरुले रोकेके उनले बताए ।

‘सदनलाई नढाँटी भन्नुपर्छ । म पनि २–४ मुक्का चाहिँ लगाउने हिसाबमा थिएँ । तर साथीहरूले रोक्नुभयो’, थापाले भने । आफूमाथि आक्रमण भएपछि गाडी सुविधा लिएकामा विरोध भएको भन्दै थापाले आफूले मागेर नभई प्रदेश सरकारले दिएकाले गाडी चढेको जवाफ दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us