काठमाण्डु, ७ माघ– प्रधानमन्त्री केपी ओलीले सत्तामा टाँसिरहन राष्ट्रिय हितलाई तिलाञ्जली दिने काम आफूबाट नहुने बताएका छन् ।
राजधानीमा सोमबार आयोजित ‘नेपालको परराष्ट्र नीति’ सम्बन्धी संवादमा बोल्दै ओलीले विगतमा भू–राजनीतिका नाममा सत्तामा टिक्न राष्ट्रिय हितविरुद्ध जे पनि गर्न तयार हुने प्रवृत्ति देखिएको आरोप लगाउँदै उनले आफूबाट त्यस्तो स्तरहीन काम हुन नसक्ने बताए ।
आफू पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेका भन्दै उनले कसैमाथि हस्तक्षेप नगर्ने र कसैको हस्तक्षेप सहने पक्षमा नरहेको उल्लेख गरे । ‘हामीले हाम्रो भौगोलिक अवस्था र भूराजनीतिलाई बिर्सिएका छैनौं ।
तर, भूराजनीतिको नाममा सत्ता स्वार्थी भएर सत्तामा रहनका लागि जेसुकै निर्णय गर्ने, राष्ट्रिय हितलाई तिलाञ्जलि दिन तयार हुनेजस्ता स्तरहीन काम गर्दैनौं’, ओलीले भने, ‘नेपालको राष्ट्रिय नीतिभन्दा बाहिर गएर कसैले काम गर्छ भने हामी स्वीकार्दैनौँ ।’
नेपाल जिम्मेवार तथा विश्व शान्ति र न्यायको पक्षधर मुलुक रहेको ओलीको भनाइ थियो । उनले राष्ट्रिय हितमा अडान नलिई भू–राजनीतिलाई देखाएर कायरता लुकाउने काम आफूबाट नहुने चेतावनी दिए ।