तीन जना सवार भारतीय मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

काठमाण्डु टुडे २०८१ माघ ६ गते १२:२१ मा प्रकाशित

जनकपुर, ६ माघ– धनुषाको जनकपुर उपमहानगरपालिका–२३ स्थित जनकपुर–जलेश्वर सडकखण्डमा भारतीय नम्बरको मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको छ ।

तीव्र गतिमा रहेको बीआर–०६–डिजे–२६३२ नम्बरको भारतीय नम्बरको मोटरसाइकलले ज१२प ६०३८ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटरको पछाडि सवार महोत्तरीको पिपरा गाउँपालिका–५ की ६० वर्षीया राजमरी देवीको मृत्यु भएको हो । स्कुटर चालक ६५ वर्षीय कामेश्वरप्रसाद यादव घाइते छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अुनसार ठक्कर दिने मोटरसाइकलमा तीन जना सवार थिए ।

मोटरसाइकल चालक भारत सितामढीका संजित साह, उनकी श्रीमती रूबी साह र अर्का एक जना घाइते भएका छन् । घाइते सबेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us