
संखुवासभा, ४ माघ– कोशी राजमार्गअन्तर्गत भोटखोला गाउँपालिका–३ सोम्बुङडाँडामा सुक्खा पहिरो झरेको छ ।
शुक्रबार दिउँसो सुक्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन सञ्चालन हुन नसकेको संखुवासभा प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।
करिब ३५ मिटर माथिबाट खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको छ ।
इलाका प्रहरी कार्यालय हटिया गोलाबाट गएको प्रहरी टोली र स्थानीयवासीले पहिरो पन्छाउने प्रयास गरिरहेको छ ।